भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज

रासस

शनिबार, १५ भदौ २०८१, १४ : ०९
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज

चितवन । यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

हरेक दिन बिहान ६ बजे अघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेल साइकलमा अस्पताल छिर्छन् । बिहानीको व्यायामसँगै अस्पतालमा एक फन्को लगाएपछि उनी बिरामीको भीड व्यवस्थापन गर्न जान्छन् ।मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउँछन् । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिन्छन् । मेसु प्राडा पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानीको समय खर्चिन्छन् ।

अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेका मेसु पौडेलले बताए । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उनको भनाइ छ । टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिए ।

प्राडा पौडेलले भने, “टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएका छौंँ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।” उनका अनुसार बिदाको भोलिपल्ट अस्पतालमा एकै दिन दुई हजार सात सय भन्दाबढी बिरामी आएको तथ्याङ्क छ । 

बिहानदेखि ओपिडी सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले बिरामीको घुइँचो भएपछि बहिरङ्ग सेवालाई विविधिकरण गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरेको छ । जहाँ ७ बजेदेखि ९ बजेसम्म दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ ।

“बिहान ८ बजेदेखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । यहाँ ९ः३० बजेदेखि ४ बजेसम्म परीक्षण हुने गर्दछ ।  पुनः १ देखि २ बजेसम्म इएसएस, डेण्टल र जनरल ओपिडि (जीओपिड) का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा पाँच बजेसम्म लिन सकिन्छ”, डा पौडेलले भने, “समग्रमा हामीले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तीन सिफ्टमा सेवा दिएका छौँ ।” 

अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, छ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् ।

बिरामीको उच्च चापका कारण कतिपय शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था हन्त्य नभएको पौडेलले बताए । उनका अनुसार ल्याबकोलीका बिरामीले १४ महिनादेखि पालो कुर्नुपर्नेमा हाल एक वर्षमा झारिएको छ । शल्यक्रिया कक्ष थप गरेर पालो कुर्नुपर्ने समय घटाउँदै लगिने यहाँले उल्लेख गरे । 

 

प्रतिक्रिया दिनुहोस