काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ ।
राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सन्देशमा उनले, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु”, भनेका छन् ।
नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरेका छन् ।
उनले पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुन:स्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु साझा दायित्व’
राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ