प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ०९ : १८
प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नै कारणले अहिले समस्यामा परेका छन् । दुई छिमेकी मुलुकसँग ओलीले सन्तुलन मिलाउनु पर्नेमा आफु अनुकुल ब्याख्या र प्रस्ताव राख्न थालेपछि अहिले आफैं समस्यामा पर्न थालेका हुन् ।

कुटनीतिक स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओलीले आफ्नै गृहनगर झापाको दमकमा निर्माण हुने भनिएको ‘दमक औधोगिक पार्क’का विषयमा दुई छिमेकीसँग दुई थरी कुरा गर्न थालेका छन् ।

झापाको दमकमा औधोगिक पार्क निर्माण गर्ने र त्यसका लागि चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरिसकेर पनि परियोजना अगाडी बढाउन नसकिरहेका बेला प्रधानमन्त्री ओलीले उक्त पार्क निर्माणका सवालमा दुई छिमेकीसँग  अहिले दुई थरी कुरा राखेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेला ८ वर्ष अगाडी यो पार्क निर्माण गर्ने गरी चिनियाँ पक्षसँग समझदारी भएको थियो । त्यही आधारमा २०७६ असोजमा लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीसँग निर्माण सम्झौता समेत भएको थियो । लगत्तै ओलीले त्यस पार्क निर्माणको सिलान्यास पनि गरेका थिए ।

तर यो पार्क निर्माणको काम अलपत्र परेपछि चिनियाँ पक्षले यसपटक प्रधानमन्त्रीको चीन भ्रमणका बेला निर्माण कार्यका बारेमा प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले परियोजना अव अगाडी बढाउने प्रतिवद्धता जनाएर फर्केका थिए ।

ओलीले आफु सरकारबाहिर रहँदा अन्य नेताहरुको नेतृत्वको सरकारले काम अगाडी नबढाएको कारण योजना अलपत्र परिरहको जवाफ फर्काएका थिए । तर चिनियाँ पक्षले तदरुकताका बारेमा गम्भिर प्रश्न गरेका छन् । यो पार्क निर्माणका सवालमा भारतको पनि गम्भिर चासो छ ।

भारतले सिधा शब्दमा नभनेपनि कुनै न कुनै रुपमा चिनियाँ पक्षको लगानीमा निर्माण हुने भनिएको उक्त पार्कका बारेमा गम्भिर चासो राखेको छ । जाहाँ यो पार्क निर्माण हुने भनिएको छ यसबारेमा भारतले औपचारिक⁄अनौपचारिक तहमा  मुख्यतः दुई विषयमा चासो राखेको परराष्ट्र स्रोतले बताएको छ ।

पहिलो, चिनियाँ पक्षले निर्माण गर्ने भनिएको यो पार्क चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत लगानी निर्धारण गरेको बताएकोमा भारतको गम्भिर चासो छ ।

दोस्रो, भारतले  ‘चिकन नेक’ का रुपमा अगाडी सारेको सिलिगुडी करिडोर नजिकै यो पर्छ । भारतलाई तिब्बत, नेपाल, भुटान र बंगलादेशसँग जोड्न बेइजिङको राडरमा पार्ने गरी उसले पनि सिलिगुडी करिडोर अगाडी सारेको छ । यसले गर्दा दमको औधोगिक पार्कका विषयमा चीन र भारत दुवैको चासो देखिन्छ ।

हुन त यो परियोजना निर्माण गर्ने भनिएपनि नेपालतर्फ जग्गा (पार्क) को स्वामित्व विवाद, मुआब्जाको अन्योल र स्थानीय बासिन्दाको विरोधका कारण पार्क शिलान्यासमै सीमित छ । तर यसपटक प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा पार्क निर्माणको तदरुकताका सन्दर्भमा प्रश्न उठाएपछि ओलीले अब अगाडी बढ्ने प्रतिवद्धता जनाएर आएका थिए ।

तर सँगै भारतले पनि यसैमा प्रधानमन्त्री ओलीसँग कुनै न कुनै रुपमा प्रश्न गरेको परराष्ट्र स्रोतले बताएको छ । भारतसँग सम्वन्ध सुधार हुन नसकिरहेका बेला भारतले पनि यो पार्क निर्माणका विषयमा प्रश्न उठाएपछि ओलीले भारतलाई पनि मथ्थर पार्ने गरी मुआब्जा विवाद लगायतका कारण ठाँउ सार्न सकिने जवाफ फर्काएको बताइन्छ ।

यसको संकेत सत्ता सहयात्री दल कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री डा प्रकशशरण महतले पनि घुमाउरो शैलीमा स्वीकार गरेका छन् । अंग्रेजी दैनिक पत्रिका काठमाडौं पोष्टसँगको एक अन्तवार्तामा डा महतले दमक औधोगिक पार्क निर्माणको विषय पनि नयाँ दिल्लीको शंकाको एउटा कारण हुन सक्ने बताएका छन् । र उनले भनेका छन्, ‘यदि त्यसो हो भने, हामीले आफैलाई सोध्नुपर्छ ? के पार्क त्यही स्थानमा निर्माण गर्नुपर्छ ?’

डा. महतले नेपाल र भारतका सरकारका बीचमा सहज सम्वाद हुन नसकिरहनुभित्र यो पनि एउटा कारण हुनसक्ने ठम्याएका छन् । ‘स्पष्ट रूपमा होइन। भारतले आधिकारिक रूपमा यो उनीहरूको चिन्ताको कारण हो भनेर भनेको छैन, तर यो एउटा कारण हुन सक्छ। यदि त्यसो हो भने, हामीले आफैलाई सोध्नुपर्छ ? के पार्क त्यही सटीक स्थानमा निर्माण गर्नुपर्छ ? के यसलाई स्थानान्तरण गर्न सकिँदैनथ्यो ?’ काठमाडौं पोष्टसँगको अन्तवार्तामा पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता महतले भनेका छन्, ‘नेपाली जनताबाट नेपालमा चिनियाँ लगानीमा कुनै आपत्ति छैन। र यसरी, भारतले पनि आपत्ति जनाउनु पर्ने कुनै कारण हुनु हुँदैन। यद्यपि, यदि त्यो स्थानमा अन्य गतिविधिहरूको बारेमा शंका छ भने, शंकालाई बढावा दिने वातावरण किन सिर्जना गर्ने ?’

चिनियाँ पक्षसँग भने सम्झौता गर्दा नै पार्क १० वर्षमा निर्माण हुने, ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ। निर्माणपछि पार्कको नाम पनि दमक क्लिन इन्डस्ट्रियल पार्क (नेपाल-चीन मैत्रीपूर्ण औद्योगिक पार्क) राख्ने समझदारी छ ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुने, पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ० लगानी गरेर निर्माण कार्य हुने र  सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको थियो ।

भूगोलका हिसावले दमकमा बन्न लागेको र त्यसमा चिनियाँ पक्षले चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत लगानी निर्धारण गरेको बताएपछि भारत सशंकित देखिएको हो । आफनो देशसँगको सिमाना नजिक रहेको कारण पनि भारतले चिनियाँ लगानीका विाष्माय चासो राखेको हो ।

भारत चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सँग र चीन भारतको सिलिगुडी करिडोरप्रति शसंकित छन् । यसैको मारमा परेको छ दमकको औधोगिक पार्क निर्माणको विषय ।

प्रतिक्रिया दिनुहोस