काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्र मन्त्री डा. देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।
सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा.देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन् ।
हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा.देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन् ।
आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आश्वासन उनले दिएका थिए ।
सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा.देउवाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेकी थिइन् ।
यसका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा.देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा
परराष्ट्र मन्त्री राणा चीन प्रस्थान
राजदूत सिफारिसलाई समितिले रिभ्यू गरे सरकारले मानहानी ठान्दैन : परराष्ट्रमन्त्री राणा
परराष्ट्र मन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट
माओवादीले विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापन पत्र