परिवारसहित थाइल्याण्ड उडे सभापति देउवा

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १४ : ५०
परिवारसहित थाइल्याण्ड उडे सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् । स्वास्थ्य परीक्षण घुमघामको लागि सभापतिको परिवार एक साताको लागि थाइल्याण्ड प्रस्थान गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले  भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । यसैले फेरि स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणको लागि सभापतिको परिवार नै थाइल्याण्ड प्रस्थान गरेको हो ।’

उनीहरू आइतबार दिउँसो १ बजेर ४६ मिनेटमा थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

सभापति देउवाको परिवार वैशाख १२/१३ गते मात्रै फर्किने उनको भनाइ छ ।

थाइल्याण्ड बसाइको क्रममा कुनै राजनीतिक भेटघाट नभएको पौडेलले जानकारी दिए । 

पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषयले सत्ता समीकरणमा केही तनावको स्थिति देखिन खोजेको थियो ।

तर सत्तारुढ दल कांग्रेस–एमालेले नियुक्तिसहितका विषयमा सहमति गरेको दाबी गरेका छन् । दुई दलीय असन्तुष्टिका बीच देउवाको थाइल्याण्ड भ्रमणलाई केहीले महत्त्वका साथ हेरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस