काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरे ।
लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । बैठकमा बस्नुपुर्व लामिछानेले सबैलाई एकमुष्ट सम्वोधन गरे । उनले आक्रामकरुपमा आफ्नो भनाइहरु राख्दा समर्थकले ताली बजाएर समर्थन जनाएका थिए ।
रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए ।
लामिछानेले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’
दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको रविले बताए ।
लामिछानेको भनाइका केही अंशः
मलाई सरकारले मुद्दामाथि मुद्दा लगाएर दुख दिइरहेको छ । सरकारले गर्न सक्नेजति जोडबल लगाएको छ । के भयो के भएन मैले भन्नु पर्दैन । केही न केही नभएको भए अदालतले त्यत्रो धरौटी लिन्छन् ? भनिरहेका छन् ।
म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।
म राजनीतिमा नआएको भए यो दुख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ । संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।
सोचेको थिएँ केही समय विश्राम गरौं । शान्त बसौं । पार्टीका साथीहरुले जिम्मेवारीपूर्वक बलबुताले काम गरिरहनुभएको छ । तर म शान्त बसेको फाइदा उठाउँदै सरकारले टाउकोमा तरबार झुण्ड्याइदिन खोज्यो ।
एउटा जिल्लामा मुद्दा नबुझाएर राखेको छ । यसको टाउकोमा एउटा तरबार झुण्ड्याइदियो भने चुप हुन्छ भन्ने लागेको होला । कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु ।
म लड्छु । जुनसुकै शक्तिसँग लड्छु । तर यो लुटतन्त्रलाई लुटुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन । अझै गर षडयन्त्र । अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु । कुनै दिन मैले चारवटै अदालतमा एकैदिन उपस्थित हुनुपर्छ । जे हुन्छ होस । थप केही मुद्दा लगाउनु छ भने लगाओस ।
जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोशिष गरिरहेका छन् । म कहाँ आगो बलेको छ तापौंला भनेर बसेको छैन । हामी स्पष्टरुपमा आएका थियौं । जनता आक्रोशित छन् ।
जनतामा ठूलो आक्रोश र निराशा छ । त्यसलाई चिनुपर्ने थियो । बदल्नुपर्ने थियो । घन्टी बजायौं । तर, यिनीहरु हाम्रो घन्टी फुटाउनतर्फ लागे ।
मलाई दुःख लाग्छ यतिखेर देश लगभग प्रतिपक्षविहीन भएर बसेको छ । सञ्चारकर्मीलाई सरकारी पक्ष नबन्न अनुरोध गर्छु । सशक्त प्रतिपक्षको आवश्यकता छ । तपाईंको इन्टेन्सन लोकतन्त्र बचाउने हो कि लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो ?
हामी गणतन्त्रवादीको कित्तामा छैनौ कि, गणतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने प्रयास भएको छ । म भन्न चाहन्छु, जहाँ तपाईं उभिनुभएको छ, त्यो गणतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको थियो । रास्वपा खोल ओढ्दैन ।
रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छु । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर रास्वपालाई छैन । रास्वपा जनताको पक्षमा रास्वपा छ । परिवर्तनको पक्षमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी
रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा
रवि लामिछानेले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध
मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालत जाँदै रवि लामिछाने