कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १५ : २४
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल

काठमाडौं।  जनता समाजवादी पार्टी, (जसपा) नेपालले कुनै बहानामा हुने हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ ।

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको हिंस्रक र अराजक गतिविधिको घोर निन्दा र भर्त्सना गर्दै जसपा नेपालले यस्ता गैरराजनीतिक एवं आपराधिक हिंस्रक क्रियाकलाप स्वीकार्य नहुने बताएको हो ।

‘काठमाडौंको कोटेश्वर, जडिबुटी र तीनकुने लगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गरिनु पर्दछ’, जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस्ता घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानून बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’ 

 

 

 

 

 

 

जनतालाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन, धनजनको सुरक्षा गर्न, हिंसात्मक घटना हुन नदिन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई रक्षा गरी संस्थागत गर्न आवश्यक ठोस कदम चाल्नुपर्ने जसपाको माग छ ।

‘प्रतिक्रान्ति तथा प्रतिगमनकारी राजावादी शक्तिहरूलाई परास्त गर्दै जनआन्दोलन, जनविद्रोह र ऐतिहासिक मधेश जनविद्रोह लगायतका संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गरी मुलुकमा देखा परेका समस्याहरू खास गरी भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र, अराजकता र दण्डहीनता, तथा जातीय, लैङ्गिक, वर्ण तथा वर्गका आधारमा हुने गरेका उत्पीडन, विभेद र असमानताको स्थितिलाई अन्त्य गर्दै मुलुकमा सुशासन, समानता, सामाजिक न्यायका साथै विकास र समृद्धिका लागि ठोस कार्य गर्न समेत आग्रह गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।  

 

 

 

null

प्रतिक्रिया दिनुहोस