काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भयो । १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । ७० बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । हमित श्रेष्ठले ३९ रन बनाए । दिलिप नाथ ३१ रनमा अविजित रहे ।
आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको थियो । बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८६ रन बनाए ।
२५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसँग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि करण केसी र सागर ढकालले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १४ : ५३
लेखकबाट थप