राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, ०९ : ४७
राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !

काठमाडौं । राजनीतिका चतुर खेलाडी कमल थापाले यसपाली राजेन्द्र लिङ्देनलाई खेलाई खेलाई सुताएको राजावादी कित्तामा चर्चा चलेको छ । थापाले पुरानो हिसाब केही हद मिलाएको भनेर विश्लेषण गरिएको छ ।

पुराना राष्ट्रवादी नेता नवराज सुवेदीको नाम आन्दोलन समितिको संयोजकको रुपमा छलफलमा आउने बखत राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपाका अध्यक्ष लिङ्देनले स्वीकार र समर्थन गरेका थिए । राप्रपाको आइतबार बसेको कार्यसम्पादन समिति वैठकमा सुवेदीले सबैभन्दा पहिला लिङ्देनसँग छलफल गरेको र यसमा अध्यक्षबाट समर्थन पाएको कुरा वैठकमा राखेका थिए । यस विषयमा लिङ्देनले वैठकमा पूर्ववत् समर्थन र शुभकामना दोहोराएको राप्रपाका एक नेता बताउँछन् ।

संयुक्त जनआन्दोलन समिति घोषणा भएपछि थापा र लिङ्देनले समितिबारे कुनै छलफल नभएको र आफू समितिमा नबस्ने सार्वजनिक गरे । थापा र लिङ्देनको तर्क, शब्द चयन र अडान एकै थियो, गठनबारे कुनै छलफल भएन, पुराना नेतालाई संयोजक तोकियो, संयोजक त आफै बन्नु पदर्छ भन्ने थियो ।

समितिमा नबस्न थापाले लिङ्देनलाई उक्साएको चर्चा घोषणा सभा आयोजना गरिएको भोजन गृहमा उपस्थितहरुबाट सुनिएको थियो । दुर्गा प्रसाईले मन्तव्यकै क्रममा राप्रपाका टप नेताले आफूलाई वैठकमा नजान फोन गरेको बताएका थिए ।

थापाले जे जस्तो भनेर लिङ्देनलाई उचाले पनि राप्रपा नेपालले सुवेदी संयोजक रहेको आन्दोलनको संयुक्त मोर्चालाई तन, मन, धनले स्वागत र सहयोग गर्ने कार्यसम्पादन समितिबाट मंगलबार निर्णय गराए, उपाध्यक्षलाई समितिमा पठाउने संस्थागत निर्णय गरे । जबकी थापाको भरमा रहेका लिङ्देनले भने एक्लै आफनै नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

‘पाथीभराको कसम, राप्रपा महाधिवेशनको धोका सबै कुरा अध्यक्ष थापाले बिर्सेका छैनन्, यो अलिअलि हिसाब मिलानको घटना पनि हो,’ थापा निकट एक नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस