काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।
विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौँ आएका थिए ।
‘आन्दोलन नगरेर खुरुक्क घर गए हुन्छ । शिक्षकले उठाएको र सम्झौता गरेको भन्दा बढी माग पूरा हुन्छ । बरु आन्दोलन गरे गडबड हुन्छ’, सभापति थापाले भने । ७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने उनले बताए ।
‘सेवा सुविधाको लागि मात्र कुरा गरेर हुँदैन । शिक्षकलाई जागिर खुवाएको विद्यार्थी सुधार गर्न हो नि । शिक्षकको पनि विद्यार्थीको पनि भविष्य बनाउने गरी ऐन बनाउने हो,’ सभापति थापाले भने । हाल शिक्षा विधेयक समितिमा दफावार छलफलको क्रममा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : १०
लेखकबाट थप