ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०८१, १२ : १८
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी

काठमाडौं । ‘राजा अगाडि बढ जनता तिम्रो साथमा छ’ भन्ने नारासहित पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश समितिको नेतृत्वमा सम्पूर्ण तयारी सम्पन्न गरेको छ । यसै योजना मुताबिक कार्यकर्ताहरुलाई पूर्वराजाको रुट भित्रको विभिन्न स्थानमा स्वागतका लागि उभिन निर्देशन जारी गरेको छ ।

त्रिभुवन विमानस्थलको गोल्डेन गेटदेखि गौशाला, चावहिल हुँदै निर्माल निवाससम्म पूर्वराजालाई स्वागत गर्न राप्रपा बागमती प्रदेश समिति प्रमुख विक्रम बहादुर थापाले सार्वजनिक सुचना समेत आइतबार जारी गरे । ‘आज फाल्गुण २५ गते राजा ज्ञानेन्द्र शाह सरकार पोखराबाट काठमाडौं सवारी हुन लागेको हुँदा मौसुफ सरकारको स्वागतका लागि समस्त देशभक्त राष्ट्रवादीहरुलाई स्वागतमा सहभागी हुन अनुरोध गर्दछु,’ राप्रपा बागमती प्रदेश प्रमुख थापाले सार्वजनिक अपिल जारी गर्दै भने । ‘त्रिभुवन विमानस्थलको गोल्डेन गेटदेखि गौशाला, चावहिल, नारायणगोपाल चोक महाराजगन्ज, निर्मल निवाससम्म आफूलाई पायक पर्ने स्थानमा उपस्थित भै सरकारको स्वागत गरिदिन हार्दिक अनुरोध गर्दछु,’ थापाले सार्वजनिक सुचनामा भने । ‘राष्ट्र बचाउने अभियानमा एक जुट हौ,’ थापाले सुचनामा जोड दिएका छन् ।

राप्रपा स्रोत अनुसार, पूर्वमन्त्री समेत रहेका थापाले राप्रपाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिहरुसँग स्वागत कार्यक्रमलाई प्रभावकारी बनाउन विगत केही दिन यता सबै संयोजनका काम सम्पन्न गरीसकेका छन् । स्मरण रहोस्, राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समितिले चैत महिनामा काठमाडौंमा हुने आन्दोलनका लागि देशका प्रमुख शहरहरुमा मोटरसाइकल ¥याली लगायत आन्दोलनका प्रभावकारी कार्यक्रमहरु संचालन गर्दै आएको छ । गणतन्त्रलाई बिदा गर्दै राजसंस्था, हिन्दु अधिराज्य कायम गर्न चैतमा वार कि पारको आन्दोलन गर्ने राणाले घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस