नवराज सुवेदी
एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने रु मैले एक उद्योग गर भनेर दिएकै छ। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू।”
श्री ५ महेन्द्रलाई प्रजातन्त्रविरोधी पनि भनिन्छ। यो आरोप लाग्ने कारण २०१७ सालको काण्ड नै हो। पार्टीमाथि प्रतिबन्ध लगाई, जनताद्वारा निर्वाचित सरकारलाई विघटन गर्न झट्ट हेर्दा अप्रजातान्त्रिक लाग्छ। तर, यो काण्ड गराउनमा भारतको पनि हात छ। मेरो दृष्टिमा त्यस वेला राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरबीच के कुरा मिलेका थिएनन् थाहा छैन, तर यसको फाइदा भारतले लिन खोज्दा नै २०१७ साल पौष १ गतेको काण्ड हुन गयो।
२०१७ साल मंसीर २८ गते शिकार खेल्ने निहुँमा तत्कालीन भारतका सेनाध्यक्ष जनरल श्री के।एम। थिमैया ठोरीको जङ्गलमा आए। त्यहीँ भारतीय राजदूत श्री भगवान् सहायले श्री ५ महेन्द्र र थिमैयाको भेट गराएका थिए। त्यसपछि पौष १ गतेको काण्ड हुन गयो। यो काण्डपछि पं. जवाहरलाल नेहरूले यो ठीक भएन भन्ने मात्र वक्तव्य दिनुभयो। अरू केही पनि प्रतिक्रिया भारतबाट नआउनु, शङ्का गर्ने ठाउँ छ।
यस काण्डबाट राजालाई खुसी पारी आफ्नो स्वार्थ पूरा गराउने दाउमा भारत थियो, तर राजाले त्यसो हुन दिएनन्। यसको फाइदा नेपाली कांग्रेसलाई भयो। यसपछि भारतले त्यहाँ शरण लिएका कार्यकर्ताहरूलाई सहयोग दिन शुरु गर्यो।
२०२५ सालतिर म गृहराज्यमन्त्री थिएँ। एक दिन साँझ जनरल मल्ल (शेरबहादुर) को फोन आयो– श्री ५ बाट मन्त्रीज्यूलाई बोलाहट भएको छ, तुरुन्त दरबार आउनुपर्यो।
म दरबार गएँ। श्री ५ बाट हुकुम भयो– “नवराज, अब प्रजातन्त्र दिने वेला भयो। जनताको नासो धेरै दिन राख्तिनँ। मलाई एउटा नयाँ संविधानको ड्राफ्ट (प्रारूप) चाहियो। त्यसकारण तिम्रो अध्यक्षतामा तीन सदस्यीय समिति बनाउँछ। पूर्णप्रसाद ब्राह्मण सदस्य र सदस्यसचिवमा सुन्दरप्रसाद शाह हुने छन्। विशेषज्ञहरूको पनि सल्लाह लिई चाँडै मलाई ड्राफ्ट (प्रारूप) तयार पारी देऊ।”
भोलिपल्ट समिति बन्यो। सूर्यबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो। ड्राफ्टको काम सुरु भयो। तर, पूर्णप्रसादजीसँग कुरा मिलेन। उहाँले राजाको दर्शन पनि पाउनुभएको थिएन, सरकारको चाहना पनि बुझ्नुभएको थिएन। दर्शन बक्सन जाहेर गर्नुभयो, तर पाउनु भएन। सातआठ महीनापछि मात्र हामी तीनै जनाले सामूहिक दर्शन पायौं।
त्यस दर्शनभेटमा मलाई देखाउँदै पूर्णप्रसादजीले सरकारमा जाहेर गर्नुभयो “सरकार, पञ्चायत मास्न स्वयम् उहाँजस्तो मन्त्री नै लाग्न भएको छ। पूर्ण प्रजातन्त्र दिनुपर्छ, बालिग मताधिकारबाट चुनाउ हुनुपर्छ, वाक् स्वतन्त्रता दिनपर्छ आदि कुरा उठाएपछि कसरी पञ्चायत व्यवस्था ठीक हुन्छ ? खाली नामचाहिँ पञ्चायत व्यवस्था राख्ने रे, कामचाहिँ बहुदलीय व्यवस्थाको गर्ने रे, सरकार म त यो मान्दिनँ।”
पूर्णप्रसादजीका कुरा सुनेपछि श्री ५ बाट हुकुम भयो– “पूर्णप्रसाद, मैले जनताको नासो केही दिनलाई लिएको हुँ। यो नासो जनतालाई फिर्ता गर्न ढिलो भइसक्यो। चाँडै ड्राफ्ट तयार गर। नवराजले भनेको कुरा ठीक हो। मिलाएर मलाई चाँडै ड्राफ्ट देऊ।”
श्री ५ को यस्तो प्रस्ट विचारपछि हामीले रातारात गरेर ड्राफ्ट तयार गर्यौं।
यसै बीचमा विश्वेश्वरजी सुन्दरीजलमा हुनुहुन्थ्यो– उहाँलाई छोड्ने कुरा उठ्यो। सूर्यबहादुरजी प्रधानमन्त्री, म गृहराज्यमन्त्री थिएँ। हामी दुवैजनाले बीपीलाई छोड़ने कुरामा जोड दिँदै आएका थियौं।
छोड्ने पक्का भएपछि दरबारको नाटक शुरु भयो। कहिले सूर्यप्रसाद त कहिले गिरिजाप्रसाद आदिलाई भेट्ने काम सुरु भयो। जस जसले लिन खोजे पनि बीपी छोड़ने र उनी तीन महीना चुप लागेर बस्नुपर्ने। यसैबीचमा संविधानमा व्यापक सुधार गरी वालिग मताधिकारबाट चुनिएको व्यक्ति प्रधानमन्त्री हुने निर्णय स्वयम् श्री ५ महेन्द्रबाट नै गरिबक्सेको थियो।
मलाई थाहा भएसम्म बीपी पनि यस कुरामा सहमत हुनुहुन्थ्यो। खाली पार्टी खोल्न पाउनुपर्छ भन्ने बीपीको अडान, दरबारको चाहना पार्टीमा नगएर चुनाउ चिह्नबाट चुनाउ लडौं भन्ने थियो। अर्थात् एउटै चिह्नबाट अधिराज्यभरि चुनाउ लड्ने कि पार्टीको नामबाट लड्ने। यति मात्र कुरा मिलेको थिएन। अरू सबै कुरामा करीब–करीब सहमति थियो।
एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने रु मैंले एक उद्योग गर भनेर दिएकै छ। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू।”
यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाउ आएन। तर, उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो।
श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन। पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन। यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो।
ओमेगा (ओमेगा वाच) ले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो। कुरा राम्रो थियो। अतः विश्व ब्यांकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो। वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्यौं।
उनीहरूको एउटै मात्र शर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो। यो शर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गछौं भन्ने उनीहरूको भनाइ थियो। हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं।
तर, काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा शेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरे। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन। ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो। जे होस्, दरबारमा प्रधानमन्त्री र मेरो बीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो।
(पूर्वमन्त्री एवं राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत रहेका नवराज सुवेदीलिखित, जगदम्बा प्रकाशनद्वारा प्रकाशित ‘इतिहासको एक कालखण्ड’को एक अंश)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी
ज्ञानेन्द्र काठमाडौं भित्रिँदा ओली सुदूरपश्चिम जाँदैं