विश्वस्तरीय नेता जन्माउने 'सोल': विकसित भारतको यात्रामा महत्वपूर्ण कदम : प्रधानमन्त्री मोदी

रासस

बुधबार, १४ फागुन २०८१, १५ : २५
विश्वस्तरीय नेता जन्माउने 'सोल': विकसित भारतको यात्रामा महत्वपूर्ण कदम : प्रधानमन्त्री मोदी

काठमाडौं।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार दिल्लीको भारत मण्डपममा आयोजित स्कुल अफ अल्टिमेट लिडरशिप (SOUL) कन्क्लेभको उद्घाटन गरे। उक्त अवसरमा भुटानका प्रधानमन्त्री शेरिङ तोब्गे पनि उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सोलबाट विभिन्न क्षेत्रमा नेतृत्व गर्ने महान नेता निस्कने आशा व्यक्त गरे । उनले सोलको स्थापनालाई 'विकसित भारत' को यात्रातर्फको एक महत्वपूर्ण कदमको रूपमा वर्णन गरे ।

'राष्ट्र निर्माणका लागि नागरिकहरूको विकास अत्यन्तै महत्वपूर्ण छ । विभिन्न क्षेत्रमा उत्कृष्ट नेताको विकास अत्यन्तै महत्वपूर्ण छ र यो समयको माग हो । त्यसैले, स्कुल अफ अल्टिमेट लिडरशिपको स्थापना विकसित भारतको यात्रातर्फ एक महत्वपूर्ण र ठूलो कदम हो,' सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने ।

 

 

 

 

 

प्रधानमन्त्री मोदीले सोलको 'परिसर सिटी' नजिकै चाँडै नै तयार हुने जानकारी दिए । वास्तुकलाको दृष्टिकोणबाट पनि यो संस्थाले नेतृत्व लिन सक्ने मोदीको विश्वास थियो ।

'स्कुल अफ अल्टिमेट लिडरशिपको परिसर सिटी नजिकै चाँडै नै तयार हुनेछ । आज, यहाँ आउँदा अध्यक्षले मलाई यसको पूरा मोडेल देखाउनुभयो । मलाई साँच्चै लाग्छ कि, यो संस्थाले वास्तुकलाको दृष्टिकोणबाट पनि नेतृत्व लिनेछ,' उनले भने ।

 

 

प्रधानमन्त्री मोदीले स्वामी विवेकानन्दको प्रसिद्ध भनाइलाई उद्धृत गरेका थिए । उनले भने, 'स्वामी विवेकानन्दजीले भन्नुभएको थियो, मलाई १०० ऊर्जावान युवा दिनुहोस् र म भारतलाई परिवर्तन गर्नेछु । उहाँले भारतलाई गुलामीबाट मुक्त गर्न र परिवर्तन गर्न चाहनुहुन्थ्यो । उहाँसँग १०० नेता भएको भए उहाँले केवल भारतलाई केवल स्वतन्त्रता दिने मात्र होइन, भारतलाई नम्बर एक देश बनाउनुहुन्थ्यो ।'प्रधानमन्त्री मोदीले भारतको हरेक क्षेत्रमा उत्कृष्ट नेतृत्वको आवश्यकतामा रहेकोमा जोड दिएका छन् ।

'आज हरेक भारतीय २१औं शताब्दीको विकसित भारतका लागि दिनरात काम गरिरहेका छन् । यस्तो परिस्थितिमा, १४० करोड जनसंख्या भएको देशमा हामीलाई हरेक क्षेत्रमा, हरेक भर्टिकलमा, जीवनको हरेक पक्षमा उत्कृष्ट नेतृत्वको आवश्यकता छ । स्कुल अफ अल्टिमेट लिडरशिपले २१औं शताब्दीको नेतृत्व स्थापित गर्ने ठूलो सम्भावना छ ।'

आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले गुजरात र महाराष्ट्र विभाजनको समयलाई सम्झना गर्दै महत्वपूर्ण उदाहरण प्रस्तुत गरे ।

'कुनै पनि देश जब प्रगति गर्छ, त्यसमा प्राकृतिक स्रोतको आफ्नो भूमिका हुन्छ । तर त्यसभन्दा बढी, मानव संसाधनले ठूलो भूमिका खेल्छ । मलाई याद छ, जब महाराष्ट्र र गुजरातको विभाजनको आन्दोलन चलिरहेको थियो हामी त्यतिबेला बच्चा थियौं । तर त्यस समयमा गुजरात अलग भएर के गर्ने ? यसको (गुजरात) कुनै प्राकृतिक स्रोत छैन भन्ने कुरा पनि उठेको थियो । त्यहाँ कुनै खानी छैन, कोइला छैन । पानी छैन, मरुभूमि छ र त्यसपछि पाकिस्तान छ । यसले के गर्ने ? अहिले नेतृत्वको शक्ति हेर्नुस्, गुजरातमा केवल नून छ तर आज त्यही गुजरातमा सबै कुरा छ ।'

त्यसपछि सम्बोधन गरेका भुटानका प्रधानमन्त्री शेरिङ तोब्गेले आफ्नो सम्बोधनमा सोललाई प्रधानमन्त्री मोदीको 'ब्रेनचाइल्ड' भनेर सम्बोधन गरे । प्रधानमन्त्री तोब्गेले मोदीलाई आफ्नो 'मेन्टर र दाइ' भनेर पनि सम्बोधन गरेका थिए ।

'प्रधानमन्त्रीज्यू, मेरो दाइ, हरेक पटक म तपाईंलाई भेट्ने अवसर पाउँदा खुशीले भरिपूर्ण हुन्छु । हरेक पटक मैले तपाईंलाई भेटेर तपाईंको उत्कृष्टता देख्दा म एक सार्वजनिक सेवकको रूपमा अझ कडा परिश्रम गर्न प्रेरित हुन्छु ।'

तोब्गेले आफू एक विद्यार्थीको रूपमा आएको र प्रधानमन्त्री मोदीबाट नेतृत्वको बारेमा सिक्न उत्साहित रहेको बताए । हिन्दी भाषामा केही टिप्पणीहरू गर्दै तोब्गेले यसलाई एक 'आदर्श अवसर' भने । उनले प्रधानमन्त्री मोदीलाई विश्वको 'महान नेता' भनेर सम्बोधन गरे ।

सोलको परिसर गान्धीनगरमा बनाइने भएको छ । यही फेब्रुअरी १४ मा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गान्धीनगरमा सोलको अत्याधुनिक क्याम्पसको भूमि पूजन गरेका थिए ।अनुमानित डेढ अर्ब भारूको लागतमा अर्को दुई वर्षभित्रमा यसको संरचना बनाइने बताइएको छ ।

फेब्रुअरी २१-२२ सम्म सम्पन्न दुई दिने सोल लिडरशिप कन्क्लेभ महत्त्वपूर्ण रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसमा राजनीति, खेलकुद, कला र मिडिया, आध्यात्मिक संसार, सार्वजनिक नीति, व्यापार र सामाजिक क्षेत्र जस्ता विविध क्षेत्रका नेताहरूले आफ्नो प्रेरणादायक जीवनबारे बताएका थिए र नेतृत्वसँग सम्बन्धित पक्षहरूमा छलफल गरेका थिए । कन्क्लेभले सहकार्य र विचार नेतृत्वको पारिस्थितिकी प्रणालीलाई बढावा दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कार्यक्रमले युवा दर्शकलाई प्रेरित गर्न असफलता र सफलता दुबैबाट सिक्ने सुविधा प्रदान गरेको थियो ।

स्कुल अफ अल्टिमेट लिडरशिप गुजरातमा स्थापना हुने एक महत्त्वपूर्ण नेतृत्वदायी संस्था रहेको र यसले सार्वजनिक हितलाई अगाडि बढाउन नेताहरूलाई सक्षम र सबल बनाउने बताइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोलको उद्देश्य औपचारिक प्रशिक्षणको माध्यमबाट भारतमा राजनीतिक नेतृत्वको परिदृश्यलाई विस्तार गर्नु र योग्यता, प्रतिबद्धता र सार्वजनिक सेवाप्रति समर्पितलाई थप सबलीकृत गर्नु हो ।

प्रतिक्रिया दिनुहोस