राप्रपाकी फरार सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १४ : ३६
राप्रपाकी फरार सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गिता बस्नेत संघीय संसद्को हिउँदे अधिवेशन अवधिभर कुनैपनि बैठकमा उपस्थित भइनन् । तर, उनै बस्नेतको अनुपस्थिति (बिदा)लाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेको भनेर संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । यही विवरण सभामुखले सभामा प्रस्तुत गरे ।

जबकी हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका जम्मा २७ वटा बैठक बसेको थियो । अधिवेशनको पुरै अवधि कुनैपनि बैठकमा उपस्थित नरहेकी फरार सांसद बस्नेतको बिदा सभाले स्वीकृत गरेको हो ।

बस्नेत सहकारी ठगीको अनुसन्धानमा छिन् । सहकारी ठगीको आरोप लागेपछि उनी फरार छिन् । संसद् सचिवालयका अनुुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् । यसबीचमा उनले सांसदको रुपमा प्राप्त गर्ने तलबभत्ता र सेवासुविधा लिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस