तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १४ : ५९
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ ।कीर्तिपुरका सविनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जन २९ वर्षका थिए ।

तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए । उनको भने अझै पोस्टमार्टम भएको छैन । 

प्रतिक्रिया दिनुहोस