‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छ : झलनाथ खनाल

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, १५ : १३
‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरेका छन् । शुक्रवारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए । 

उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे ।  ‘कुनै पनि पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ’, खनालले भने, ‘अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ ।’   

पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ । ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ ? भन्दै उनले अध्यक्ष नेपाललाई प्रश्न समेत गरे ।‘स्थायी कमिटीको बैठकले पार्टी र जनसङ्गठनबिच महाधिवेशनपछि गर्नुपर्ने विभिन्न कार्य विभाजनका सिलसिलामा हिजो जे जिम्मेवारी थियो त्यसबाट अन्यत्र जिम्मेवारी दिएर हेरफेर गरेको कुरामा केही भन्नु छैन’, खनालले भने, ‘तर कस्तो प्रक्रियामार्फत जाने ? गरिरहेको जिम्मेवारी चट्ट छाडेर जाने हो कि कसरी जाने ? यसबारे पद्धति विकास गर्न जरुरी छ ।’ उनले अहिलेको अवस्थामा सबै जनसङ्गठनहरूलाई नीति, सिद्धान्त र कार्यक्रमअनुसार परिचालन गर्नुपर्नेमा जोड दिए । 

‘कुनै पनि जनसङ्गठनले पार्टीको वैचारिक राजनीतिक कार्यक्रम, विचार नीति र सिद्धान्तलाई तलमाथि गर्न पाउँदैनन् । जनसङ्गठनका आफ्नै विधान, ढाँचा, योजना रहेका सङ्गठनलाई स्वायत्तता दिनुपर्ने हुन्छ र दिँदै आएका छौ’, खनालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस