भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, १४ : १८
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा

काठमाडौँ । नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार दिने गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका  केबी नेपालीलाई समर्पण गरिने छ । साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि उनी विगत साढे छ दशकदेखि निरन्तर क्रियाशील छन् ।

यसैगरी मुम्बई निवासी सङ्गीतकार रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । उनी नेपाली गीतको उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील छन् ।

यसैगरी नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा.जीवन नामदुङलाई पनि ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रसाईले बताए । 

साथै नेपाली साहित्यमा कविता, निबन्ध, कथा  र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । गजमेर, नामदुङ र क्षेत्रीलाई दिइने पुरस्कारका राशि जनही एक-एक लाख रुपैयाँ रहेको प्रकाशनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस