बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धनको आयात

सफल खबर संवाददाता

सोमबार, ०८ पुस २०८१, १४ : २९
बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धनको आयात

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन-मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थको आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ ।

यस वर्ष मसिंरसम्म ४ लाख ७२ हजार ८ सय ७ किलोमिटर डिजेल आयात भएको छ । गत आव मंसिरसम्म ४ लाख ८९ हजार ९ सय ३६ किलोमिटर डिजेल आयात भएको थियो । यस वर्ष डिजेल आयातमा बिदेसिने रकम समेत घटेको छ ।

मंसिरसम्म डिजेल आयातमा ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबर रकम बिदेसिएको छ । गत आव मंसिरसम्म ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँ बराबर रकम डिजेल आयातमा बिदेसिएको थियो ।

यस वर्ष पेट्रोल आयात ३ लाख ६ हजार २ सय २९ किलोमिटर बराबर भएको छ । गत वर्ष मंसिरसम्म २ लाख ८१ हजार ९ सय ७० किलोमिटर बराबर थियो ।

पेट्रोल आयातमा खर्च भएको रकम भने यस वर्ष केही कम भएको छ । यस वर्ष मंसिरसम्म २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पेट्रोल आयातमा खर्च भएको छ । गत वर्ष यो रकम २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ थियो ।

खाना पकाउने ग्यास यस वर्ष मंसिरसम्म २१ करोड ७७ लाख ७४ हजार ४ सय ३३ किलो आयात भएको छ । गत वर्ष मंसिरसम्म २१ करोड ४२ लाख ९१ हजार ६ किलो ग्यास आयात भएको थियो ।

ग्यास आयातमा यस वर्ष २४ अर्ब २२ करोड ९१ लाख खर्च भएको छ । गत वर्ष यो रकम २० अर्ब ६५ करोड ५८ लाख रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

हवाई इन्धन यस वर्ष ८९ हजार ५ सय ४५ किलोमिटर आयात भएको छ । गत वर्ष मंसिरसम्म ७८ हजार १ सय १२ किलोमिटर हवाई इन्धन आयात भएको थियो । हवाई इन्धन आयातमा यस वर्ष ८ अर्ब १४ करोड ५९ लाख खर्च भएको छ । गत वर्ष यो रकम ८ अर्ब ६६ करोड २१ लाख बराबर थियो ।

 

प्रतिक्रिया दिनुहोस