अमेरिका र चीनका राष्ट्रपति पनि नेपालको कानुन देखेर भाग्छन् : सांसद मोदी

सफल खबर संवाददाता

बुधबार, ०३ पुस २०८१, १४ : १८
अमेरिका र चीनका राष्ट्रपति पनि नेपालको कानुन देखेर भाग्छन् : सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालको कानुनी प्रक्रिया लम्बेतान भएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद मोदीले कर्मचारीको ‘चेन अफ कमाण्ड’ को प्रक्रियाले समस्या ल्याएको जिकिर गरेका हुन् ।

‘कर्मचारीको चेन अफ कमाण्ड छ । कमाण्ड सिस्टमको पनि समस्या कहीँ न कहीँ छ,’ उनले भने, ‘सरुवा प्रणालीमा पनि कहीँ न कहीँ हामीले संरचनामा सुधार आउनैपर्छ ।’

सांसद मोदीले अहिलेकै परिस्थिति र संरचना कायम राख्ने हो भने विकसित देशका सफल राष्ट्रपतिलाई ल्याए पनि ६ महिनामै भाग्ने बताए ।‘यही परिस्थितिमा, संरचनामा, मानौं अमेरिकाको कुनै सफल राष्ट्रपति वा भारतका सफल राष्ट्रपति ल्याऔं ।

नेपालमा कोही अर्थमन्त्री, कोही गृहमन्त्री वा चीनबाट सी जिनपिङ नै ल्याऔं,’ मोदीले भने, ‘यही कानुन अनुसारको संरचनामा गयौं भने ती मान्छेहरू पनि नेपालमा ६ महिनापछि भाग्छन् । कुन देशमा आएँ, कस्तो कानुन बनाएको भनेरै भाग्छन् ।’

उनले कर्मचारीतन्त्रमा देखिएको समस्या उजागर गर्दै एउटा सरुवा प्रक्रियामा देखिने दृश्य समितिको बैठकमा सुनाए ।

‘एउटा, अधिकृतले टिप्पणी उठाउँछ । उपसचिवले फेरि सदर गर्छ । उपसचिवले सहसचिव । सहसचिवलाई चित्त नबुझे कानुनको राय । कानुनको राय चित्त नबुझे अनि सचिव । सचिवपछि मन्त्री । अनि मन्त्रीलाई पनि चित्त नबुझे क्याबिनेट । यो यति लामो प्रक्रिया छ कि, कल्पना भन्दा बाहिर छ,’ सांसद मोदीले भनेका छन् ।

उनले अघि भनेका छन्, ‘खरदार सुब्बाको सरुवा गर्दा त्यहाँको उपसचिवले गर्नुहुन्छ । अधिकृतको सहसचिवले गर्नुहुन्छ । उपसचिवको सरुवा गर्दा सचिवले गर्नुपर्ने हुन्छ । त्यहाँ कुनै मन्त्रीको रोल (भूमिका) छैन । सहसचिवको सरुवा गर्नुपर्यो भने मुख्यसचिवले क्याबिनेटबाट गर्छ । मन्त्रीले खाली टिप्पणी उठाइदिने मात्रै छ ।’

प्रतिक्रिया दिनुहोस