अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०८१, १४ : ५१
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन् ।

उनले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताइन् । शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो ।

अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उनले बताइन् । उनले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्र रूपमा अरू बालबालिकाजस्तै पुगाउनुपर्नेमा जोड दिँदै बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताइन् ।

अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले बताइन् । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बानियाँले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताए ।

कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षासम्बन्धी प्रस्तुतीकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताइन् । उनले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिइन् । उनका अनुसार केन्द्रले करिब एक हजार तीन सय विद्यार्थीलाई ब्रेललिपिका पाठ्यसामग्री उपलब्ध गराएको छ ।

यस्तै, केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतीकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुगाउन नसकेको बताए । करिब १० हजार आठ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बानियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस