वर्षाले तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा क्षति

रासस

बुधबार, २१ कार्तिक २०८१, १४ : ५०
वर्षाले तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा क्षति

दमौली । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

यो वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो। यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ।

एकाउन्न हजार पाँच सय १० क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ । तेह्र हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ ।यसैबीच, सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ । वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन् ।

जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा–३ का किसान वेलबहादुर दर्जीले बताए ।

यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो। असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो ।

बेनी नगरपालिका वडा नं २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्याएको छभने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस