काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी सोमबार दिउँसो ४.३०बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् ।
काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनु भएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरुबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।
प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो ।
५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिनिधिहरुबाट पूर्ण रूपमा सहयोग प्राप्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा
ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन
ढल्केबर-इनरुवा १५४ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न