काठमाडौँ । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर-लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।
धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो ।
डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई थान पावर ट्रान्सफर्मर र १३२र११ केभी, २२.५ एमभीए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभीए छ ।
सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज र छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए ।
यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायत समस्या थिए ।
स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ । ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिने छ ।
यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालु गरिएको छ । लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन
ढल्केबर-इनरुवा १५४ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न