डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउन प्राधिकरणलाई आयोगको निर्देशन

रासस

विहीबार, १५ कार्तिक २०८१, ११ : ५९
डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउन प्राधिकरणलाई आयोगको निर्देशन

काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। 

आयोगका सचिव मनदेवी श्रेष्ठले प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल असुल गर्न आग्रह गरेका हुन्। आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै लाइन जोडिदिनसमेत आग्रह गरेको छ। 

प्राधिकरणले महशुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो। तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन्। केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ। यस्तै प्राधिकरण सञ्चालक समितिको हिजोको बैठकले पनि डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउने सम्बन्धमा थप केही लचिलो हुने गरी निर्णय गरेको छ। 

यसअघि प्राधिकरणले २८ किस्तामा महशुल तिर्न सकिने बताउँदै आएकोमा त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको बताइएको छ । महशुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस