नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ : परराष्ट्रमन्त्री

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १५ : ३१
नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छिन् ।

नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन् ।यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उनले बताइन्। 

परराष्ट्रमन्त्री डा. देउवाले भनिन्, 'कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।'

उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८)मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन्। 

अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप–२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस