नवलपुरबाट पुनः शुरू भयो माओवादी केन्द्रको जागरण अभियान

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १३ : ०५
नवलपुरबाट पुनः शुरू भयो माओवादी केन्द्रको जागरण अभियान

नवलपरासी। नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट शुरू भएको छ । झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । 

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो ।  नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान शुरू गरिएको अध्यक्ष दाहालले बताए । गैँडाकोटबाट अभियान पुनः शुरू गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो । 

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए । 

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट शहीद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् । 

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस