स्वनिग : सांस्कृतिक पर्यटनको नयाँ पहिचान, गुण्डुमा ५ तारे होटलको शिलान्यास

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १३ : १४
स्वनिग : सांस्कृतिक पर्यटनको नयाँ पहिचान, गुण्डुमा ५ तारे होटलको शिलान्यास

काठमाडौं। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ‘स्वनिगः रिसोर्ट प्रालि’ले अन्तर्राष्ट्रिय स्तरको पाँच तारे होटल परियोजनाको भूमि पूजा सम्पन्न गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुस्थित पहाडी थुम्कोमा हुने यो परियोजना अत्याधुनिक सुविधा, सांस्कृतिक सम्पदा र प्रकृतिको संयोजन हुनेछ।

यो स्थल हिमशृङखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टि रहे जस्तो देखिन्छ । साथै यहाँबाट उपत्यकाका तीनै शहर येँ, यलः र ख्वपःको दृश्य अवलोकन गर्न सकिन्छ।

स्वनिगः नेवारी शब्द हो । जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो ।परियोजनाले नेवारी स्थापत्य, कला, संगीत, खानपान र जीवनशैलीलाई पुनर्जीवित गर्ने उद्देश्य राखेको छ।

यहाँ अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम–सेयर मोडेलमा निर्माण हुने ६० भिल्ला, मनोरञ्जन केन्द्र, वेलनेस सेन्टर, ध्यान र योग स्थल, रक क्लाइम्बिङ, साइक्लिङ, लाइभ संगीत र एम्फिथिएटरसमेत रहनेछन्। यस गन्तव्यमा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, एक्जिबिसन), डेस्टिनेसन वेडिङ, अन्तर्राष्ट्रिय सेमिनार र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्।

null

परियोजनाको विकास ‘इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आईईजी)’ र अष्ट्रेलियाको ‘एस एन्ड जेजी होल्डिङ्स’को सहकार्यमा भइरहेको छ। आईईजीका अमृतरत्न शाक्य र सुबर्णकृष्ण श्रेष्ठ सांस्कृतिक संरचना निर्माणमा ५० वर्षभन्दा बढी अनुभव बोकेका अभियन्ता हुन्।

एस एन्ड जेजी होल्डिङ्स एनआरएन नेता शेष घले र जमुना घले गुरुङद्वारा सञ्चालित कम्पनी हो। यो कम्पनीको लगानी शिक्षा, अतिथि सत्कार र रियल स्टेट क्षेत्रमा छ। घले दम्पतीको स्वामित्वमा रहेको एमआईटी ग्रुपले हाल काठमाडौंको कान्तिपथमा पाँचतारे होटल निर्माण गरिरहेको छ।

गुण्डुस्थित स्वनिगः परियोजनाको कुल अनुमानित लगानी ४ अर्ब ७५ करोड रुपैयाँ छ। निर्माण कार्य सन् २०२७ नोभेम्बरमा सम्पन्न हुने लक्ष्य छ। यो परियोजना पाइलट बाबा आश्रमसँगको सहकार्यमा आध्यात्मिकता, विश्राम, कला र जीवनशैलीलाई एकै थलोमा जोड्नेछ। स्थानीय समुदायको समावेशिता र समृद्धिको दृष्टिकोणले पनि यो गन्तव्य विशेष हुने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस