लुम्बिनी । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छन्।
सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ। तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उहाँ पनि असहाय बन्नुभएको छ। उनले भने, ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन।’
सोही वडामा नन्दलाल चौहानका पिता बुद्धु चौहानले आफ्नो पेन्सनको रु ५० हजार पनि सोही सहकारीमा राखेका थिए । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उहाँले योजना बनाउनुभएको थियो। उनले भने, ‘अब त्यो योजना पनि अधूरो रहने देखिन्छ।’
छोटेलाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्तकहाँ सहयोग माग्नुभयो । तर अधिकांश आफन्तको जवाफ एउटै छ, ‘आफैँलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ।’
फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक रु पाँच सयका दरले बचत गरेका थिए । अब विवाह नजिकिँदै गर्दा उहाँले राख्नुभएको पैसा पनि अनिश्चित बनेको छ। यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर अहिले रु एक लाख ५० हजार थुनिएको छ। उनले भने, ‘यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ।’
यही २०८१ फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरु भयो। विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ। परिणामस्वरुप, बचत फिर्ता पाउने, ऋण लिने र सावाँब्याज तिर्नेलगायत सबै सेवा ठप्प छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम
स्रोत नखुलेको १९ लाख रूपैयाँ सहित दुई जना पक्राउ
सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ