काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।
धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ एमाले महासचिव पोखरेलले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन ।’
अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । ‘एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा (झण्डै ६५ करोड) सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीले लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ महासचिव पोखरेलले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्ने अत्यन्त हानिकारक छ ।’a
सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए । रविको नाम नलिई उनले संकटमा पुर्याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताए ।
पोखरेलले भने, ‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ । त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त हुँदैन ।’सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान फर्किनुमा दाता नै जिम्मेवार : महासचिव पोखरेल
अध्यादेश रोकिनेवाला छैन, पास गर्ने अनेक विकल्प छन् : महासचिव पोखरेल
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
अहिलेको सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल
ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछ : शंकर पोखरेल
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल