अमेरिकामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १५ : २७
अमेरिकामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

अलाबामा । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ सहरको फाइभ प्वाइन्ट्स साउथ डिष्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन् ।

‘धेरै व्यक्तिहरूले एकैचोट मानिसहरूको समूहमा गोली हाने,’ फिट्जगेराल्डले भने । घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेको थियो । यसमा एक महिला र दुई पुरुष थिए । अस्पतालमा अर्को एक जनाको मृत्यु भयो । यी मृतकलाई गोली लागेको थियो ।

बन्दुकधारी घटनास्थलसम्म पैदल हिँडेर आएका थिए कि कारमा भन्ने कुरा पत्ता लगाउने कोसिस जासुसहरूले गरिरहेका छन् । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । घटनामा धेरै मानिसलाई गोली लागेको र अहिलेसम्म प्राप्त जानकारी अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी सङ्कलन गर्ने गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहान भएका छन् ।