नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकको चासो

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १६ : ५२
नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकको चासो

काठमाडौं । विश्व बैंक समूह नेपालका विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि तयार भएको छ । उसले एकपछि अर्को शर्त राख्दै आकर्षक आयोजना आफैलाई दिनु पर्ने भन्दै सरकारलाई दबाव दिएको छ ।
२०५१ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट फिर्ता भएको विश्व बैंकले पछिल्लो दिनमा अरुण बेसिनमा नै लगानीका लागि नेपाल सरकारका विभिन्न एजेन्सी तथा निकायसँग निरन्तर सम्वादमा रहेको छ । अरुण तेस्रो निर्माण गर्ने ताका राजनीतिक अस्थिरता र लगानीको वातावरण नभएको दाबी गरेर फर्किएको विश्व बैंककै इशारामा निर्माण भएका खिम्ती र भोटेकोशी आयोजनाले नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्वास्थ्यलाई नराम्ररी खल्बल्याइदिएको थियो ।
विश्व बैंकले लगानी गर्न चाहेको समयमा अरुण तेस्रो आयोजना बनाउन सकिएको भए नेपालको आर्थिक विकास र समृद्धिको मुहार धेरै पहिल्यै देख्न पाइन्थो । आयोजना निर्माणका लागि करिब २५ बर्ष समेत कुर्नुपर्ने थिएन । राजनीतिक अस्थिरताको नारा दिएर तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई पत्र लेख्दै विश्व बैंक बाहिरिएको थियो । त्यतिखेर वातावरणको मुद्दालाई समेत उसले राम्रैसँग पक्डिएको थियो । २५ वर्षपछि आएर सोही विश्व बैंक अरुण आयोजना निर्माण गर्ने भन्दै ऋण लगानीका लागि तयार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा समेत विश्व बैंकले लगानी गर्ने सम्भवना बढ्दै गएको छ । सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको लागि खर्च हुने रकम समेत विश्व बैंकले नै उपलब्ध गराएको छ । सरकारले केही दिन पहिले माथिल्लो अरुण जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण मातहत कम्पनी निर्माण गरेर अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति दिएको छ । सो आयोजनालाई क्यू ३० मा डिजाइन गरेर करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनामा सरकार रहेको छ । सो आयोजना हालस्म्मकै सस्तो र आकर्षक आयोजनाको रुपमा परिचित छ ।
आयोजनाको डिपिआरको काम चिनियाँ कम्पनीले गरिरहेको छ । यस्तै तल्लो अरुणमा समेत विश्व बैंकले लगानीका लागि इच्छा व्यक्त गरेको छ । विगतमा सोही बेसिनमा आयोजना छाडेर बाहिरिएको विश्व बैंक सोही बेसिन नै खोजी गर्दै हिडेको छ भन्ने प्रश्न पनि सतहमा देखा परेको छ । कूल ७ सय ७९ मेगावाट क्षमताको तल्लो अरुणमा विश्व बैंकले मात्रै नभई अर्को एक अमेरिकी बैंकले समेत लगानीका लागि इच्छा व्यक्त गरेको छ ।

सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनीले सो आयोजनाका लागि सहुलित पूर्ण ऋण लिनका लागि एक अमेरिकी बैंकसँग छलफल गरिरहेको छ । तर विश्व बैंक पनि उत्तिकै तयार देखिएको छ । त्यसको पछाडि भारतीय कम्पनी सतजलले सहज रुपमा अरुण तेस्रोको काम सुरु गर्नुलाई पनि लिन सकिने जानकारहरुको भनाइ छ । विगतमा वातावरणीय समस्या देखाएर बाहिरिएको विश्व बैंक पछिल्ला दिनमा भारतीय कम्पनीले बिनाविवाद काम सुरु गरेपछि आर्कषित भएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

कूल ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीले धमाधम सुरुङ निर्माणको काम अगाडि बढाइरहेको छ । आगामी चार बर्षभित्र आयोजनाका निर्माण सक्ने योजनामा भारती कम्पनी लागेको छ । आयोजना स्थलमा सकारात्मक वातावरण तयार भएपछि विश्व बैंक समूह अरुण बेसिनमा पुनः लगानीका लागि तयार भएको हो ।
सरकारले पछिल्ला दिनमा अरुण बेसिनमा आयेजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । पानीको उच्च उपलब्धता तथा पहुँचमार्ग समेत निर्माण भइसकेकाले पनि सो बेसिन जलविद्युत् आयोजना निर्माणका लागि सहज र सरल मानिन थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस