उपसभामुख हटाउने कांग्रेस एमाले कदमको प्रतिकार गर्छौं : रास्वपा

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १६ : ३२
उपसभामुख हटाउने कांग्रेस एमाले कदमको प्रतिकार गर्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो । ‘एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे । आन्तरिक छलफल गर्न हामीले बाँकी छ’, कार्यवाहक प्रवक्ता मनिष झाले भने,‘एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि, हामी प्रतिकार गर्नेछौं ।’

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको स्पष्टीकरण दिइसकेको भन्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले त्यही विषय उठाएर हटाउन खोज्नु बेठीक भएको बताए ।

‘यो कुरा किन अहिले बाहिर निकाल्न खोजियो भन्दाखेरि संवैधानिकमा बहुमत नपुग्ने भइसकेपछि आयो’, उनले भने,‘रास्वपाबाट आएको व्यक्ति वाधक हुन्छ भन्ने देखिसकेपछि अहिले यो मुद्दालाई राष्ट्रिय बहसमा ल्याइएको छ ।’

उपसभामुख रानामगरले गरेको त्रुटी पद नै जाने खालको नभएको बुर्लाकोटीले जिकिर गरे । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पछि सत्ता पक्षले उपसभामुख रानामगरलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारी गरेका छन् । दुई तिहाइ सांसदको संख्या पुर्‍याउनका लागि मंगलबार र बुधबार हस्ताक्षर संकलन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस