काठमाडौँ । गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ । मलेसियामा जारी प्रतियोगिताको पाँचौं खेलमा चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना विकेट भेट्टायो । नेपालका लागि ओपनर विनोद भण्डारीले २४ र प्रदिप ऐरीले ४ रनको नटआउट पारी खेले। विनोदले ८ बलमा ३ चौंका र १ छक्का प्रहार गरे ।
यसअघि वायुमस ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो । चीनका लागि ओपनिङ ब्याट्सम्यान होङ जियाङ यानले सर्वाधिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । चीनलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।
नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन् । नेपालले यसअघि नै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ । यता चीन भने आफूले खेलेका सबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ । नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ ।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित छ । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ ।
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो । त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो । लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचाैं स्थानमा छन् । अंकविहीन चीन अन्तिम स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०७५, १० : ०९
लेखकबाट थप