काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, ०८ : ४४
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार (चैत ३) देखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ ।

सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ । 

तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे । 

महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा उनको जोड थियो । लिपि लेखन मात्र नभइ महानगरपालिकाको पहिचान भएकोले यसलाई सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।  ‘हरेक विभागका २ जना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सिपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सिप विकासको तालिमलाई निरन्तरता दिइनेछ ।’ राईले योजना सुनाइन् । 

तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइनेछ ।  ‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । यसमध्येका ६ वटालाई मान स्वर (मुख्य) वर्ण र यसका ४ थरी मात्रा रुपमा प्रयोग गरिन्छ । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । यी वर्णहरु देवनागरिकमा भएका ३६ वटामा ङ पछाडि ‘ङ्ह’, न पछाडि ‘न्ह’, म पछाडि ‘म्ह’, र पछाडि ‘¥ह’ र ल पछाडि ‘ल्ह’ थपिएर ४१ वटा हुन्छन् ।’ नेपाल लिपि गुथिका अध्यक्ष एवं तालिमका मुख्य प्रशिक्षक अनिल स्थापितले भने, ‘नेपाल भाषा हस्वमय भाषा हो । संस्कृतबाट आएका शव्दहरुलाई पनि तद्भव बनाएर प्रयोग गर्न थालिएको छ ।’

नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ । त्यो व्राह्मी लिपि हो । नवौँ शताव्दीमा नेपाल लिपिको सुरुवात नेपालमा नै भएको हो । दशौँ शताव्दीको प्रारम्भ (नेपाल संवत् २८) को समयमा चिकित्सा विद्यासँग सम्बन्धित नेपाल भाषाको हस्तलिखित पुस्तक ‘लङ्कावतार’ लेखिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस