बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १३ : ४८
बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार बिहान सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो भइरहेको आरोपसमेत लगाए ।

‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको पोखरेलको भनाइ थियो ।‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’, उनले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको जिकिर गरे ।‘कांग्रेसको औपचारिक निर्णय-यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?’, पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।

२०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने उनले दाबी गरे ।काठमाडौंका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको पोखरेलले बताए । बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न जरुरी नभएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस