ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्री खड्काद्वारा पूर्वमन्त्रीहरूसँग छलफल

रासस

मंगलबार, ११ भदौ २०८१, २० : १८
ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्री खड्काद्वारा पूर्वमन्त्रीहरूसँग छलफल

काठमाडौँ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज मन्त्रालयमा आयोजना गरेका पूर्वमन्त्रीसँगको छलफलमा उनीहरूले ऊर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् । 

छलफलमा ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पूर्वमन्त्रीको राय र सुझाव आवश्यक रहेको बताउनुभयो ।

“मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रूपमा ऊर्जा क्षेत्रलाई लिएको छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँहरूजस्ता पूर्वमन्त्रीको अनुभव, राय र सल्लाह मन्त्रालयलाई आवश्यक पर्छ”, उनले भने ।

मन्त्री खड्काले बुढीगण्डकी, दूधकोशी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरुण जलविद्युत्जस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे पूर्वमन्त्रीको राय सुझाव मागेका थिए ।

यस्तै छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने विषय, विद्युत् निर्यातमा भारत, चीनबाहेक अन्य मित्रराष्ट्रसँगको लगानीका लागि सम्भावनाका विषय, संसद्मा दर्ता भएको विद्युत् विधेयकसम्बन्धी विषयलाई अगाडि बढाउनेबारे छलफल गरेका थिए ।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको क्षेत्र जलस्रोत क्षेत्र भएकाले यसलाई अधिकतम् प्रयोग गरेर देशले फाइदा लिनुपर्ने बताए । “समयमै आयोजना नसकिँदा लागत बढेर गएको छ, यसलाई सुक्ष्म रूपमा विश्लेषण गरेर समाधानतर्फ लाग्नुपर्छ”, उनले भने ।

पूर्वमन्त्री कार्कीले जलविद्युत् निर्यात गर्ने मुलुकका रूपमा नेपाललाई स्थापित गर्नका लागि मुलुकको ध्यान जलविद्युत् क्षेत्रको विकासमा हुनुपर्ने उल्लेख गर्नुभयो । विद्युत् क्षेत्रको विकास नभई मुलुकको विकास हुन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस