युक्रेनी ऊर्जा केन्द्रमा भएको रुसी हमलाको बाइडेनद्वारा निन्दा, गरे युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने वाचा

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १४ : ४२
युक्रेनी ऊर्जा केन्द्रमा भएको रुसी हमलाको बाइडेनद्वारा निन्दा, गरे युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने वाचा

काठमाडौं।  वासिङ्टन–अमेरिकी राष्ट्रपति जो बाइडेनले  रुसले सोमवार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् । 

रुसले सोमवार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘युक्रेनविरुद्ध रुसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु ।’

 

 

 

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले ‘ब्ल्याकआउट’ (उर्जा सङ्कट) शुरू भएको छ । किभले रुसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रुसले युक्रेनमा बारम्बार उर्जा केन्द्रलक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ । 

 

युक्रेनको ‘सैन्य–उत्पादन परिसर’लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरूमा प्रहार गरेको रुसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  

रुसले सोमवार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।