इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १३ : ४९
इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा

तेल अभिभ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।

आफले इजरायलतर्फ ३२० वटा रकेट प्रहार गरेको हिजबुल्लाले भनेको थियो । ड्रोन र कात्युशा रकेटको प्रयोग गरेर आफूले उत्तरी इजरायलको क्षेत्रहरूलाई निशाना बनाइरहेको उसले बताएको थियो ।

यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालीन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । ‘हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म फर्काउन हामी सबै कुरा गर्न तयार छौँ । हामीलाई चोट पुर्याउन खोज्ने जोकोहीलाई हामी पनि चोट पुर्याउनेछौं’ उनले भनेका छन् ।

आफ्नो सेनाले इजरायलमा आक्रमण गर्ने हिजबुल्लाको तयारी पत्ता लगाउन दिनरात काम गरेको पनि उनले बताए । सेनाको पूर्व तयारीका कारण आफूहरूले हेजबुल्लाहका हजारौँ रकेट नष्ट गर्न सफल भएका पनि उनले बताए ।