मनहरिमा बाघ मृत फेला

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, ०८ : ३४
मनहरिमा बाघ मृत फेला

File pic

मकवानपुर । मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ । आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो ।

बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत र बिहान ६ः१५ बजे चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस