झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध

सफल खबर संवाददाता

मंगलबार, ०४ भदौ २०८१, ११ : ११
झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध

चितवन । रातिदेखिको झरीले नारायणगढ-मुग्लिन सडकको विभिन्न ठाउँमा स-साना पहिरो तथा ढुंगा खसिरहेको छ ।चितवन भएर चल्ने सवारी साधन अवरुद्ध नभएपनि ठाउँठाउँमा स-साना पहिरो खसिरहेको प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार बिहान इच्छाकामना ३, मौवाखोला र फिस्लिङबीचमा लेदोसहितको पहिरो खसेको छ । पहिरो पन्छाएर सडक सवारी आवागमन खुलाइएको छ । भने नारायणगढ मुग्लिन सडकको बीचमा ठाउँ ठाउँका ढुंगा खसिरहेको छ ।

बिहान ८ बजे इच्छाकामना-५ को तीन नम्बर पुलमाथिबाट खसेको ढुंगाले एउटा कारमा सामान्य क्षति पुगेको छ । कारमा सवार भने सकुशल छन् । काठमाडौंबाट चितवनतर्फ आइरहेको उक्त कारलाई गन्तव्यतर्फ पठाइसकेको डीएसपी रिजालले बताए ।

निरन्तर पानी परिरहेकोले पहिरो तथा ढुंगा खस्ने जोखिम कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक यात्रामा ननिस्किन प्रहरीले अनुरोध गरेको छ । कतै निस्कनुपरे सडकको अवस्थाबारे जानकारी लिएरमात्रै हिँड्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस