प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, ०७ : २३
प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान

काठमाडौ । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १७ राजदूतहरुका विषयमा कुनै गुनासा भए उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। 

समितिले आज सूचना जारी गर्दै दस दिनभित्र उजुरी दिन भनेको हो। 

सरकारबाट सिफारिस भई १७ राजदूतको संसदीय सुनुवाइका लागि समितिमा पत्र आएको जनाउँदै समितिले उनीहरुलाई राजदूतमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन आह्वान गरेको हो। 

राजदूत नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गर्नुपर्ने कानूनी व्यवस्था छ। सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालमा पनि त्यस्तो सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ। 

सरकारले शंकरप्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा। शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदुतमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस