राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १० : ११
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

पोर्चुगल । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरुबिच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ । 

सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिएका थिए । भेटवार्ताका क्रममा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो । 

उक्त समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्री/सहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल,  दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ । गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त भएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएका थिए ।