ह्यारिसलाई ट्रम्प भन्दा अगाडि देखाइरहेछन् जनमत सर्वेक्षण

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, ११ : ५७
ह्यारिसलाई ट्रम्प भन्दा अगाडि देखाइरहेछन् जनमत सर्वेक्षण

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट दलकी उम्मेदवार कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । राष्ट्रपति पदका लागि गरिएको ताजा मत सर्वेक्षणमा उनले डोनाल्ड ट्रम्पलाई पछाडि पारेकी छिन् ।

बिहीबार सार्वजनिक भएको इप्सोसको जन सर्वेक्षणको नतिजामा कमला ह्यारिसलाई ४२ प्रतिशत जनताको समर्थन छ भने डोनाल्ड ट्रम्प पाँच अङ्कले पछि परेका छन् । अर्थात् ३७ प्रतिशत जनताको रोजाइ ट्रम्प हुन् ।

अमेरिकामा भएका अन्य कयौँ जनमत सर्वेक्षणमा पनि ट्रम्पभन्दा ह्यारिस अगाडि छिन् । जुलाईमा गरिएको सर्वेक्षणमा ह्यारिसलाई ३७ प्रतिशतले समर्थन गरेका थिए । भने ट्रम्पलाई ३४ प्रतिशत जनताको समर्थन प्राप्त भएको छ । पछिल्लो सर्वेक्षणको नतिजाले चुनावी अभियान अघि बढेसँगै कमला ह्यारिसको अग्रता पनि बलियो बन्दै गएको स्पष्ट पारेको छ ।

ट्रम्पले उठाए ह्यारिसको योग्यतामा प्रश्न

ट्रम्प र उनको चुनावी अभियान टोली ह्यारिसको बढ्दो लोकप्रियताबाट चिन्तित छन् । सायद यही कारण हुन सक्छ ट्रम्पले ह्यारिस र उनको योग्यतामाथि लगातार प्रश्न उठाइरहेका छन् । हालै ट्रम्पले कमला ह्यारिसविरुद्ध रङ्गभेदी टिप्पणी गरेका थिए र उनी अश्वेत मूलको भएकोमा प्रश्न उठाएका थिए । 

अहिले ट्रम्पले संसारभरको अवस्था बिग्रँदै गएको र विश्व युद्धतर्फ विश्व उन्मुख भएको बताएका छन् । ह्यारिस यो अवस्था सम्हाल्न सक्षम नभएको उनको दाबी थियो । ह्यारिसलाई ट्रम्पले बाइडेनभन्दा खराब उम्मेदवार भनेका छन् ।

प्रतिक्रिया दिनुहोस