इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, ०८ : ४३
इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।

इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तनाव उच्च छ।

मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको पेन्टागनले बताएको छ । अमेरिका इजरायलको बलियो सारथि हो ।

इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई 'कठोर सजाय' दिने बताउँदै आएका छन् भने तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

बुधवार तेहरानमा हमास नेता मारिएका थिए । इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन।

पेन्टागनको एक विज्ञप्तिमा भनिएको छ कि नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउनेछ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ । विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ ।

तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।