उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ : रास्वपा

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १६ : १७
उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गरेको छ । संवैधानिक परिषदमा बहुमत पुर्‍याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको आशंकासमेत पार्टीको छ ।

आज बसेको केन्द्रीय समिति बैठकमा यो विषयमाथि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताए । पत्रका विषयमा पार्टीले अनौपचारिक रूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उनको भनाइ छ ।

झाले भने, ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ।’दूतावासमा दर्ता नभएको भन्ने कसरी पुष्टि गर्नुभयो भन्नेमा उनले ठोस जवाफ दिन सकेनन् । पत्रको एउटा मात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए ।

यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको दाबीसमेत झाले गरेका थिए । बैठकपछि पत्रकार सम्मेलनमा उनले संवैधानिक परिषद्का लागि यो सबै चलखेल भएको हो कि भन्ने आशंका पार्टीलाई रहेको बताए ।

उपसभामुख राना अहिले पार्टीका सदस्य नरहेकाले कुनै निर्णय गर्ने अवस्थामा रास्वपा नरहेको पनि झाले प्रष्ट पारे ।