कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १५ : ५०
कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको हो । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।

समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाडेका थिए । योजना आयोगबाट राजीनामा दिएपछि पुन: पार्टीमा सक्रिय भएका हुन् ।

बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।