महिला एसिया कप : भारतसँग हारेसँगै समूह चरणबाटै बाहिरियो नेपाल

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ०७ : ०७
महिला एसिया कप : भारतसँग हारेसँगै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन पुगेको हो । समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो ।

उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुआत गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो ।

मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा नेपालको टोली निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६  रनमा रोकियो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २२ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले । 

विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन् । 

सितालाई साथ दिन आएकी कविता कुँवर पनि धेरैबेर टिकिनन् । कविताले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन् । नेपालले कवितालाई दोस्रो विकेटको रुपमा गुमाउँदा ४.४ ओभरमा २१ रन बनाएको थियो ।  सिता र इन्दू मिलेर पारि सम्हाल्ने प्रयास गरेको थियो । ९.२ ओभरमा ४३ रन बनेका बेला इन्दूको विकेट गुम्यो । इन्दूले १८ बलमा २ चौकाको मद्दतले १४ रन जोडिन् । चौथो विकेटको रुपमा ओपनर सिता आउट भइन् । उनले २२ बल फेस गर्दा ३ चोकाको मद्दतले १८ रन जोडेकी थिइन् ।

१३.४ ओभरमा टिमको स्कोर ६४ रन हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो । नेपालकी रुविना क्षेत्री १६ बलमा १५ रन बनाएर आउट भइन् । कविता जोशी खाता नखोल्दै आउट हुँदा पुजा महतोले २ रन बनाइन् । डोली भट्ट ५ रन बनाएर आउट हुँदा नेपालले १६.२ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनाएको थियो । यसैगरी विन्दू रावलले नटआउट १७ रन बनाउँदा काजल श्रेष्ठले ३ रनमा आउट भइन् । यस्तै, सवनम राई १ रनमा नटआउट रहिन् ।

भारतका लागि दीप्ती शर्माले ३ विकेट लिँदा अरुणधति रेड्डी,  दीप्ती शर्मा र राधा यादवले दुई दुई विकेट लिए । 

प्रतिक्रिया दिनुहोस