फिल्म ‘तेलभिसा’को छायांकन सकियो

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १२ : २८
फिल्म ‘तेलभिसा’को छायांकन सकियो

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फिल्म ‘तेलभिसा’ले गहन विषयवस्तुको उठान गरेकाले हेर्न आफू उत्सुक रहेको बताएकी छन् । अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतले आफ्नो पछिल्लो फिल्म ‘तेलभिसा’ ले ३५ औं दिनमा चितवनमा छायांकन सकेका छन् । इन्डकल्याप समारोहमा भरतपुरकी मेयर रेनु दाहालले सम्बोधन गर्दै फिल्म ‘तेलभिसा’ले गहन विषयवस्तुको उठान गरेकाले हेर्न आफू उत्सुक रहेको बताएकी हुन् ।

आफ्नो नगर क्षेत्रमा छायांकन गरेकोमा निर्माण टोलीलाई धन्यवाद दिंदै उनले फिल्मको सफलताको कामना समेत गरिन् । शंकर घिमिरे निर्देशित यो फिल्मको ७० प्रतिशत छायांकन अमेरिका र बाँकी चितवनमा गरिएको हो ।

निर्देशक घिमिरेले यसअघि उनले ‘विष’, ‘वीरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्मको निर्माण तथा निर्देशन गरेका थिए । फिल्ममा अभिनेता कार्की पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन् ।

फिल्ममा कार्कीको जवान र वृद्ध दुई उमेरको चरित्र चित्रणलाई दर्शकले हेर्न पाउनेछन् । मंसिर ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको पनि शीर्ष भूमिका छ ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।