अस्ट्रिया पुगेर मोदीले भने- हामीले विश्वलाई युद्ध होइन, बुद्ध दिएका छौं

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १२ : ५७
अस्ट्रिया पुगेर मोदीले भने- हामीले विश्वलाई युद्ध होइन, बुद्ध दिएका छौं

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई ‘युद्ध होइन, शान्तिको सन्देश बुद्ध’ दिएको बताएका छन् ।अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् । 'हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ ।

हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ,' उनले भने ।रुस भ्रमण सकेर अष्ट्रिया पुगेका मोदीले बुधबार भारतीय समुदायलाई सम्बोधन गर्दै भारतको अर्थतन्त्र, राजनीति, नीति र अस्ट्रिया र भारतबीचको ऐतिहासिक सम्बन्धबारे कुराकानी गरेका थिए। 

मोदी रुस पुगेकै दिन युक्रेनको बाल अस्पतालमा मिसाइल हमला भएको थियो, जसमा धेरैको मृत्यु भएको थियो । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रधानमन्त्री मोदीको भेटमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठेको थियो ।

उनले भने, 'भारत र अस्ट्रियाबीचको सम्बन्ध ऐतिहासिक छ। करिब २०० वर्षअघि भियना विश्वविद्यालयमा संस्कृतको अध्ययन शुरू भएको थियो।'४१ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्री अस्ट्रिया पुगेका छन् ।

यसअघि आफ्नो तेस्रो कार्यकालमा मोदीले आफ्नो पहिलो विदेश भ्रमणको रूपमा रुसलाई रोजेका थिए ।अस्ट्रियाको एकदिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार स्वदेश फर्कदैछन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस