पुटिनले मोदीलाई लगाइदिए ४०० वर्ष पुरानो पदक, २०१९ मै गरिएको थियो घोषणा

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १२ : ४२
पुटिनले मोदीलाई लगाइदिए ४०० वर्ष पुरानो पदक, २०१९ मै गरिएको थियो घोषणा

काठमाडौं। रुस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ’सेन्ट एन्ड्रयू द अपोस्टल’ पदकले सम्मानित गरेका छन् । मंगलबार मस्कोस्थित क्रेमलिनको सेन्ट क्याथरिन हलमा पुटिनले मोदीलाई उक्त पदक लगाइदिएका हुन् ।

यो पदक सन् २०१९ मै मोदीलाई प्रदान गरिएको थियो । त्यतिबेलाको भ्रमणमा पदक घोषणा भएपनि वितरण सम्भव नभएकाले अहिले प्रदान गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।राष्ट्रपति पुटिनले रुस र भारतबीचको विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको विकासमा विशेष योगदान पुर्याएको भन्दै प्रधानमन्त्री मोदीलाई उक्त पदक प्रदान गरेका हुन् ।

 

 

 

 

 

 

 

 

’हामीबीचको मित्रता र आपसी समझदारीलाई सुदृढ पार्न तपाईंले गरिरहनुभएको योगदानका लागि रुसको यो इमान्दार कृतज्ञताको साक्षी हो,’ पदक लगाइदिँदै पुटिनले भने, ’तपाईंले सधैँ हाम्रो देशसँग फराकिलो सम्बन्धको पक्षमा बोल्नुभएको छ ।’

पुटिनले भारत–रुस सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान मोदीको भूमिका रहेको विषयलाई निकै महत्त्व दिएका थिए । उनले दुवै राष्ट्रले विश्वव्यापी र क्षेत्रीय सुरक्षाका लागि काम गरिरहेको पनि बताए ।

’तपाईं १० वर्षदेखि भारत सरकारको नेतृत्वमा हुनुहुन्छ । तपाईंले रुस–भारत सम्बन्धलाई विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको स्तरमा लैजाने प्रयास गर्नुभएको छ,’ पदक दिने क्रममा पुटिनले थपे, ‘तपाईंको प्रत्यक्ष सहयोगमा रुस र भारतले ठूलो मात्रामा उच्च प्रविधि, अन्तरिक्ष अन्वेषण, आणविक साझेदारी र हाइड्रोकार्बन ऊर्जामा सहकार्य गरिरहेको छ ।’

 

मोदीलाई दिइएको यो पदक सन् १६९८ मा तत्कालीन राजा जार पिटर द ग्रेटले सेन्ट एन्ड्रयूको सम्मानमा स्थापना गरेका थिए । यो केवल सबैभन्दा उत्कृष्ट नागरिक वा सैन्य योग्यताका लागि वितरण गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस